काठमाडौँ, १५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी मनोरञ्जन र खुसी साटासाट गरी मनाइने बिभिन्न पर्वले नेपालीबीच बन्धुत्व, पारस्परिकता र सद्भाव कायम राख्न मद्दत पुर्याउने बिश्वास व्यक्त गर्नुभएको छ ।
सोनाम ल्होसारका अवसरमा शुभकामना दिदै राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायलाई सुख, शान्ति, समृद्धि, एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
उहाँले मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिको संरक्षण र संवद्र्धन गर्दै समृद्धितर्फको यात्रा तय गर्नु हाम्रो दायित्व रहेको बताउनु भयो ।
जातीय तथा धार्मिक–सांस्कृतिक विविधता रहेको हाम्रो मुलुकमा बिभिन्न चाडपर्वले नेपालीहरुबीच एक आपसमा आत्मियता बढाएको पनि उहाँको भनाई छ ।
तामाङ संस्कृति आफैँमा मौलिक, सुसंस्कृत, सम्पन्न र समृद्ध रहेको, यस पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैल्याई नेपालीबीचको एकता, सद्भाव, मित्रता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण राख्न सकोस् भन्ने कामना राष्ट्रपति भण्डारीले गर्नुभएको छ ।