काठमाडौ १४ माघ ।
व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । नयाँ बानेश्वस्थित संसद भवनमा दिउँसो एक बजेपछि बस्ने बैठकमा निर्वाचन कसुर एवम् सजाय सम्बन्धी प्रचलित कानुनलाई संशोधन तथा एकिकरण गर्न बनेको विधेयक प्रस्तुत गर्ने कार्यसुची रहेको छ ।
त्यसअघि बिहान ११ बजेपछि बस्ने राज्य व्यवस्था परामर्श समितिको बैठकले विधेयकलाई अन्तिम रुप दिने छ । विधेयकमाथिको दफाबार छलफलका क्रममा प्राप्त सुझाव र सहमतिलाई एकिकृत गर्दै तयार प्रतिवेदनलाई अन्तिम रुप दिने बैठकको तयारी छ ।
समितिले तयार पारेको विधेयक प्रतिवेदनलाई आजको संसद बैठकमा पेश गर्ने तयारी भएको कांग्रेस सांसद समेत रहनु भएका समिति सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो ।
यसैबीच प्रतिवेदनको भाषा र बिषयलाई एकीकृत गर्दै अन्तिम रुप दिन अहिले बिहान ९ बजे उपसमितिको बैठक समेत बोलाईएको छ । उपसमितिले अन्तिम रुप दिने सो विधेयक समितिको पूर्ण बैठकले अनुमोदन गर्दै आजै संसदमा पेस हुनेछ ।
गत बुधबारको संसद बैठकले निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धी विधेयक तथा मतदाता नामावली सम्बन्धी विधेयक पारित गरिसकेको छ ।
सरकारले ल्याएका निर्वाचनसँग सम्बन्धित ५ वटा विधेयकमध्ये ३ वटामा सहमति जुटाईसकेको उपसमितिले राजनीतिक दलसम्बन्धी विधेयक र स्थानीय तहको निर्वाचन सम्बन्धी विधेयकमा भने सहमति जुटाउन सकेको छैन ।
थ्रेसहोल्ड सम्बन्धी विवादमा सहमति हुन नसक्दा राजनीतिक दल सम्बन्धी विधेयक अगाडि बढ्न नसकेको हो । प्रमुख दलका शीर्ष नेता तथा संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँगको छलफलपछि मात्र सो विधेयकलाई अन्तिम रुप उपसमितिको तयारी छ ।