काठमाडौं, माघ १३ ।
ब्यावस्थापिका संसदको राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले स्थानीय निकायको चुनाव सम्बन्धी अन्य तीन बिधेयकमाथिको छलफललाई तिब्रता दिएको छ ।
सिंहदरबारमा आज बिहान बसेको उपसमिति बैठकमा निर्वाचनका लागी चाहिने बाँकी तीनवटा विधेयकमाथि छलफल गरेपनि सहमती भने जुट्न सकेन ।
बिधेयकमा परेका संसोधन प्रस्तावलाई पनि एकैसाथ छलफलमा ल्याई टुङगो लगाउने पहल गरेपनि आजको उपसमिति बैठकमा सदस्यहरुबीच धारणा बाझिएपछि सहमती हुन नसकेको हो ।
बैठकमा दुई या सो भन्दा बढी दल मिलेर एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा जाने या नजाने भन्ने बिषयमा दलहरुबीच सहमती हुन सकेन । काग्रेस सांसद आनन्द प्रसाद ढुङगाना संयोजकत्वको ११ सदस्यीय उपसमिति बैठकमा बिभिन्न दल आबद्ध सांसदहरुले फुरक फरक धारणा राखेपछि सहमती नभएको सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो ।
थप छलफल आवश्यक रहेको भन्दै सो बिधेयकलाई थाति राखेर अन्य सहमती खोज्ने सहमती भएको उहाँले बताउनु भयो ।
समितिले राजनीतिक दल, स्थानीय तहको चुनाव र निर्वाचन कसुर तथा सजायसम्बन्धी विधेयकलाई अन्तिम रुप दिएर भोली (शुक्रबार)सम्म संसदमा पेश गर्ने तयारीका साथ उपसमितिले पहल गरिरहेको छ ।
यस्तै राजनीतिक दल सम्बन्धी विधेयकमा थ्रेस होल्ड, दलले पाउने अनुदानलगायतका विषयमा टुंगो लाग्न बाँकी छ ।
स्थानीय तहको चुनाव सम्बन्धी विधेयकमा गाउँपालिका, नगरपालिका वा जिल्लासभाको अध्यक्ष वा उपाध्यक्षमध्ये एक महिला हुनुपर्ने विषयमा दलहरुबिच सहमति भइसकेको छ ।
संसदले हिजो निर्वाचन आयोगको काम कर्तव्य र अधिकार तथा मतदाता नामावली विधेयकलाई पारित गरेको थियो ।