काठमाडौँ, १२ माघ ।
चक्रीय प्रणालीअनुसार आजबाट डा प्रकाशचन्द्र लोहनीले राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय अध्यक्षको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ ।
राप्रपाको आज बस्ने बैठकले डा लोहनीलाई अध्यक्षका रुपमा अनुमोदन गर्ने पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि साउन ११ देखि अध्यक्ष हुनुभएका पशुपतिशम्शेर जबराको समयावधि मंगलबारबाट सकिएपछि लोहनीले स्वत अध्यक्षको जिम्मेवारी पाउनु भएको हो ।
नयाँ अध्यक्षका लागि पार्टीका वरिष्ठ नेता डा लोहनीले राष्ट्रिय पदको जिम्मेवारी हिजोैदेखि लिनुपर्ने भए पनि पार्टी अध्यक्ष कमल थापा काठमाडौँ बाहिर रहेकाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्न लागेको हो ।
आगामी फागुन ६ देखि ९ गतेसम्म हुने पार्टी महाधिवेशनको तयारीमा रहेको राप्रपाको नयाँ अध्यक्ष डा लोहनीले करिब एक महिना मात्र पार्टीको नेतृत्व गर्नुहुनेछ ।
आजको कार्यसम्पादन समितिको बैठकबाट उहाँले आफ्नो कार्ययोजना पनि सार्वजनिक गर्नुहुनेछ ।
तत्कालीन राप्रपामा लागू गरिएको चक्रीय प्रणालीअनुसार लोकेन्द्रबहादुर चन्द र राणाले अध्यक्षको रुपमा पार्टीको नेतृत्व करिब छ –छ महिना गरिसक्नुभएको छ ।
राप्रपा पार्टी र राप्रपा नेपालको एकीकरण हुनुअगावै राप्रपाको उच्चस्तरीय कार्यसम्पादन समितिले चक्रिय प्रणली अनुसार पार्टीको अध्यक्षमा तीन नेताले नेतृत्व गर्ने सहमती भएको थियो ।