काठमाडौँ, ११ माघ ।
व्यवस्थापिका संसदको बैठक भोली बस्नेगरि स्थगित भएको छ । आजको बैठकमा निर्वाचनसम्बन्धी दुइ ओटा बिद्येयक पेश भएका छन् ।
राज्यव्यवस्था समितीका सभापति दलबहादुर घर्तिले राज्य व्यवस्था समितिले पारित गरेको मतदाता नामावली सम्बन्धी कानुन र निर्वाचन आयोगको काम, कर्तव्य तथा अधिकार एकीकरण गर्न बनेको विधेयक पेश गर्नुभयो ।
मतदाता नामावली सम्बन्धी विधेयकमा सङ्घीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा मतदानका लागि फोटो सहितको परिचयपत्र अनिवार्य गर्ने प्रस्ताव गरिएको छ ।
त्यस्तै निर्वाचन आयोगसम्बन्धी विधेयकमा निर्वाचनको मिति सरकारले नै तोक्ने प्रावधान राखिएको छ । तर मिति तोक्नुपूर्व निर्वाचन आयोगको परामर्शलाई अनिवार्य गरिएको छ ।
समितिमा पर्याप्त छलफल भएको हुनाले ती दुवै विधेयकमाथि दलीय आधारमा छलफल गरेर छिट्टै पारित गर्ने राजनीतिक दलले तयारी गरिरहेका छन् ।
समितिले निर्वाचनसँग सम्बन्धित विधेयकको कामलाई छिटो पूरा गर्न उपसमिति बनाएर काम गरिरहेको छ । उपसमितिमा हाल राजनीतिक दलसम्बन्धी विधेयकमाथि गहनरुपले छलफल भइरहेको छ ।