काठमाडौ ११ माघ ।
सरकारका दुई उप–प्रधानमन्त्रीले सुन तस्करीबारे छानविन भईरहेको भन्दै दोषीलाई कारवाही गरेरै छाड्ने प्रतिवद्धता जनाउनु भएको छ ।
संसदको सुशासन समितिमा आज उप–प्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि र उप–प्रधान एवं अर्थमन्त्री कृष्णवहादुर महराले सुन तस्करी छानविनमा सरकार उदासिन देखिएको भन्ने आरोप सत्य नभएको बताउनु भयो ।
सुन तस्करीमा संगठित गिरोह नै संलग्न रहेको भन्दै गृहमन्त्री निधीले केन्द्रिय अनुसन्धान व्युरो सिआइवीले छाननिव गरिरहेको बताउनुभयो । तस्करीका सम्बन्धमा सिआइवीले छानविन गरिरहेकाले सरकारले छुट्टै समिति भने नभएको मन्त्री निधीको भनाई छ ।
उहाँले विभिन्न संचारमाध्यममा आएका समाचारका आधारमा धारणा नबनाउन समितिलाई आग्रह समेत गर्नुभयो । यस्तै अर्थमन्त्री कृष्णवहादुर महराले छानविनपछि दोषी उम्किन नसक्ने दावी गर्दै भन्सारका कर्मचारीलाई दक्ष बनाउन तालिमको व्यबस्था समेत गरेको जानकारी गराउनु भयो ।
सिंहदरवारमा बसेको समिति बैठकमा सिआइवी प्रमुख डिआइजी नवराज सिलवालले सुन तस्करी सम्बन्धि अनुसन्धान तथ्य नजिक पुगेको जनाउनुभयो । समिति सदस्यहरुले भने उप–प्रधानमन्त्रीद्धयको जवाफ औपचारिक मात्र भएको भन्दै असन्तुष्टि जनाएका छन् ।