काठमाडौँ, ७ माघ ।
नेपाली समाजमा रहेको सामाजिक र आर्थिक असमानता हटाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
राजनीतिक, नागरिक तथा सामाजिक अधिकारमाथि महिला, जनजाति, मधेसी र दलितको पहुँच अभावका कारण नेपालमा असमानता बढ्दै गएको चिन्ता व्यक्त गर्दै उनीहरुले त्यस्ता असमानता हटाउन सबै एक हुनुपर्नेमा जोड दिए ।
राजधानीमा आज आयोजीत एक कार्यक्रममा सहभागी नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले वृद्धलाई सामाजिक सुरक्षा, आवासविहीनलाई आवास, शिक्षाको पहुँच नभएकालाई शिक्षा प्रदान र स्वास्थ्य सुविधाको पहुँच नभएकालाई स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने कुरामा राज्यले मुख्य ध्यान दिनसके असमानताको अवस्ता केहि हदसम्म हट्न सक्ने बताउनु भयो ।
नेपाली काँग्रेसका नेता एनपी साउदले असमानतालाई सम्बोधन गर्नका लागि मुलुकमा राजनीतिक स्थायित्व हुनु जरुरी रहेकोमा जोड दिनुभयो ।
राजनीतिक विश्लेषक हरि शर्माले असमानता एक राजनीतिक सवाल भएको बताउँदै यसको संस्थागत व्यवस्थापनलाई सुधार गरिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अर्थविद् डा डिल्लीराज खनालले नीति बनाउँदा उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
मानवीय जवाफदेहिता तथा अनुगमन अभियान, सामुदायिक आत्मनिर्भर केन्द्र र अक्सफामले संयुक्तरुपमा आयोजना गरेको उक्त कार्यक्रममा असमानता हटाउन चाल्नुपर्ने कदमका बारेमा सहभागीबीच बृहत् छलफल भएको थियो ।