नुवाकोट ,७ माघ ।
नुवाकोटको बिदुरमा आज स्थानीय बासिन्दा तथा प्रहरीबीच भडप भएको छ ।
स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनको विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच भएको झडपमा दुवैतर्फका गरी एक दर्जन बढी घाइते भएका छन् ।
घटनालाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र रबरको गोली प्रहार गरेको छ । जिल्ला प्राविधिक समितिको सिफारिस विपरित पुनर्संरचना आयोगले लिखु गाउँपालिका हटाएको भन्दै ६ दिन याता आन्दोलनमा रहेका जिल्लाका पूर्वी भेगबासीले आजबाट सदरमुकाम केन्द्रित आन्दोलन थालेका हुन् ।
आन्दोलनरत पक्षमाथि प्रहरीले झन्डै आधा दर्जन हवाइ फायर र ४ राउण्ड रबरको गोलीसमेत प्रहार गरेको छ ।
रबरको गोली लागेर थानसिङका विनोद पाठक, चौघडाका राजन भट्ट, खानीगाउँका कृष्ण गजुरेल, गौरव लामिछाने, रुपक ढुंगाना लगायत घाईते भएका छन् ।
पाठकको पेट र देब्रे तिघ्रामा र भट्टको देब्रे तिघ्रामा गोली लागेको छ भने अन्यको हात र गोडामा गोली लागेको जनाईएको छ ।