काठमाडौ ७ माघ ।
मधेशी मोर्चा आवद्ध दल तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले व्यवस्थापिका संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव परिमार्जन सहित पारित हुनुपर्ने बताउनु भएको छ ।
मधेसी मोर्चाको दश प्रदेशको मागलाई सरकारले संशोधन प्रस्तावमा समावेश नगरेको भन्दै उहाँले मधेशको माग सम्बोधन हुनेगरी संशोधन प्रस्ताव परिमार्जन नभएसम्म मोर्चाले समर्थन गर्न नसकिने बताउनु भयो ।
विराटनगर विमानस्थलमा आज सन्चारकर्मीसँग कुर्दै उहाँले सीमाङ्कनसम्बन्धी विवादको टुङ्गो नलागेको र निर्वाचनको लागि कानुन पनि नबनेको अवस्थामा निर्वाचन हुन नसक्ने भएकाले सरकारले निर्वाचन गर्न खोजे सहभागी नहुने धारणा राख्नुभयो ।
जनसङ्ख्या र भूगोलको आधारमा गाउँपालिका र नगरपालिका गठन हुनुपर्नेमा जोड दिदै उहाँले स्थान्ीय पुनरसंरचना आयोगले पेस गरेको प्रतिवेदन मान्य नहुने जानकारी गराउनुभयो ।
पत्रकारको जिज्ञासामा अध्यक्ष ठाकुरले सीमाङ्कनको हेरफेरका साथै मधेसी मोर्चाको माग पूरा नभएसम्म संसदीय निर्वाचनलाई समर्थन गर्न नसकिने बताउनुभयो ।