चितवन, ६ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह पुनःसंरचना आयोगले पेस गरेको प्रतिवेदनको पुनरवलोकन गर्नुपर्ने बताउनुभएको छ ।
काँग्रेस क्षेत्र नं ५ चितवनले आज पश्चिम चितवनको जगतपुरमा आयोजना गरेको आमसभा एवम् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले चितवनसहित विभिन्न जिल्लाबाट स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनमाथि विमति आइरहेकाले पुनरवलोकनका लागि काँग्रेसले संस्थागत निर्णय गर्ने जानकारी दिनुभयो ।
स्थानीय तह जनतालाई सहजताका लागि भएकाले उल्टो दुःख भयो भने जनतालाई मान्य नहुने बताउँदै उहाँले भन्नुभयो “दुई÷तीन दिन लगाएर सेवा लिन जानुपर्ने कत्तिको जायज छ ।”
मधेसी जनताको भावनालाई ध्यानमा राखेर संविधान संशोधनको प्रस्ताव पेस गरिएको बताउँदै उहाँले पहाडी र मधेसीको बीचमा दरार पैदा गर्ने तत्वलाई चिरेर यो समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो । पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो, “झुटो कुरामा लागेर आन्दोलन गर्नुभन्दा संविधान संशोधन प्रस्ताव पास गराउन एमाले लाग्नुपर्छ । त्यसबाट नै देशमा स्थायी शान्ति हुन्छ ।”
कार्यक्रममा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले कूटनीतिक विषयलाई आन्तरिक राजनीतिसँग जोडेर अन्तर्राष्ट्रिय जगत्मा नराम्रो सन्देश प्रवाह भइरहेको बताउँदै जायज विषय तर्कसँगत ढङ्गले राख्न सकेमा विदेशीलाई विश्वस्त पार्न सकिन्छ भन्नुभयो ।