भक्तपुर, ५ माघ । नेपाल रेडक्रस सोसाइटीले उपत्यकालगायत नेपालको पाँच जिल्लामा उत्थानशील नगर प्रवद्र्घन र सहभागिता कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
ब्रिटिस रेडक्रसको रु ४० करोडको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
नगर केन्द्रित बहुखतरा जोखिम न्यूनीकरणमा टेवा पु¥याउने उद्देश्यले आगामी २०२१ अगस्तसम्म सञ्चालन भएको कार्यक्रम काठमाडौँमा काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिका, ललितपुरको बज्रबाराही र कार्यविनायक नगरपालिका, भक्तपुरको भक्तपुर र मध्यपुर थिमी नगरपालिका, कास्कीको पोखरा उपमहानगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकामा सञ्चालन भएको सोसाइटीका केन्द्रीय सदस्य, विपद् व्यवस्थापन तथा सङ्कट व्यवस्थापन समितिका सभापति तथा भक्तपुर जिल्ला अध्यक्ष मनोज थापाले जानकारी दिनुभयो ।
स्थानीय जनसमुदायको अगुवाइमा सरकारी, गैरसरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँगको समन्वय र सहकार्यमा सञ्चालन भएको कार्यक्रममा काठमाडौँको उत्थानशील नगर प्रवद्र्घन एवम् सहभागिता कार्यक्रमबाट विपद् जोखिम न्यूनीकरणमा स्थानीय सरकार सरोकारवाला निकाय र समुदायको क्षमता अभिवृद्घि हुनेछ ।
बढ्दो सहरीकरण, जनघनत्व, अव्यवस्थित वसोवास र आर्थिक विपन्नताले गर्दा नगरमा विभिन्न खालका खतरा र विपद्को जोखिम बढ्दो क्रममा रहेको बेलामा तिनलाई समाधान गर्न नेपाल सरकारको प्रयासलाई बल पु¥याउन यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
थापाका अनुसार प्रत्येक जिल्लामा २४ जना स्वयम्सेवकका दरले १२० जना स्वयम्सेवकले अहिले स्थानीयस्तरमा दलित, जनजाति, ज्येष्ठ नागरिक, विभिन्न धर्मावलम्बीलगायत विभिन्न व्यक्ति, उनका घरआँगनमा गएर विपद् जोखिम न्यूनीकरणबारे विविध तथ्याङ्क सङ्कलन गरिरहेका छन् ।