काठमाडौ ५ माघ ।
राप्रपाले आगामी महाअधिवेशनको प्रचारप्रसारका लागि सामाजिक सन्जालको प्रयोग गर्ने जनाएको छ । उपत्यकाको सौन्दर्यतालाई मध्यनजर गर्दै महाधिवेशनको प्रचारप्रसारमा भित्तेलेखन नगर्ने राप्रपाले जनाएको छ ।
काठमाडौँ कायम राख्न भित्तेलेखन नगरी त्यसको विकल्पमा होडिङ्ग बोर्ड, फेलेक्स्, पर्चा पम्पलेटको प्रयोग गर्ने तयारी भएको
पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार विभिन्न पार्टीको महाधिवेशनका लागि विगतमा गरिएका भित्तेलखनले सहरको सौन्दर्यतामा ह्रास आएको महसुस गरी पार्टीले त्यस्ता गतिविधि नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।
यस्तै महाधिवेशनको प्रचारका लागि काठमाडौँ उपत्यकाका मुख्य सहरी क्षेत्र तथा व्यापारिक केन्द्रमा सांगितिक कार्यक्रम गरिने जनाइएको छ । राप्रपाको महाअधिवेशन आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म राजधानीमा हुँदैछ ।
पाटी केन्द्रिय कमिटीको निर्णयाई कसैले अवज्ञा गरेमा दण्ड तथा सजाय समेत गरिने प्रवक्ता श्रेष्ठले बताउनु भयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा महाधिवेशनको प्रचार गर्न यसपटक सामाजिक सञ्जाललाई व्यवस्थितरुपले अधिकतम् उपयोग गरिने बताइएको छ ।
यसैबीच महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि छनोट गर्ने क्रममा यही माघ ७ देखि १५ गतेसम्म वडा, गाउँ र नगरको अधिवेशन गर्न लागिएको छ । यही २१ गते देशका २४० निर्वाचन क्षेत्रमा एकैदिन अधिवेशन गराइने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।