काठमाडौ ५ माघ ।
परराष्ट्रमन्त्री डा प्रकाशसरण महत आज स्वदेश फर्किनु भएको छ । भारतको नयाँ दिल्लीमा भएको भूराजनिति सम्बन्धी सम्मेलन राइसिना डाइलगको दोस्रो संस्करणमा सहभागी हुन उहाँ सोमबार दिल्ली पुग्नु भएको हो ।
स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री महतले आफ्नो भारत भ्रमण फलदायी भएको बताउनुभयो ।
भारतका विदेशमन्त्री श्रीमती सुष्मा स्वराजको निमन्त्रणामा कार्यक्रममा सहभागी हुन परराष्ट्रमन्त्री अमेरिकाबाट सिधै दिल्ली पुग्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विश्वले भोगिरहेको प्रमुख चुनौतीको सम्बोधन बहुपक्षीय प्रयासबाट गर्न सकिनेमा जोड दिनु भएको थियो ।
भारतीय विदेशनीतिको सराहना गर्दै सो नीतिको ठोस कार्यान्वयनका लागि व्यापार, लगानी, रेल–सडक तथा विद्युत् प्रसारण लाइन जस्ता पूर्वाधार र ठूला परियोजनाको संयुक्त विकास गर्नुपर्नेमा उहाँको जोड थियो ।
दिल्ली बसाइका क्रममा उहाँले भारतीय अर्थमन्त्री अरुण जेटली, विदेश राज्यमन्त्री भिके सिंहसँग लगायतका भारतीय अधिकारीहरुसँग पनि भेट गर्नुभएको थियो ।