काठमाडौ ५ माघ ।
सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले स्थानीय तहको निर्वाचन गर्नका लागि दलहरु तयार रहेको बताउनु भएको छ । निर्वाचनका लागि प्रतिपक्षी एमाले आतुर रहेको र अन्य दल पनि चाँडै निर्वाचन हुनुपर्ने पक्षमा रहेको मन्त्री कार्कीले बताउनु भयो ।
रिपोर्टर्स क्लब नेपालले आज दाङमा आजोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले निर्वाचन गर्नका लागि निर्वाचन सम्बन्धी ऐनहरु निर्माण प्रक्रियामा रहेको र निर्वाचन आयोगले समेत तयारी गरिरहेको बताउनुभयो ।
वर्तमान राजनीतिक अवस्था सहमति र सहकार्यबाट अघि बढेको दावी गर्दै मन्त्री कार्कीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका साथै मधेसी दल पनि स्थानीय तह निर्वाचनका लागि सहमतिकै अवस्थामा रहेको जिकिर गर्नुभयो ।
मन्त्री कार्कीले सञ्चारमाध्यमले ठूल्ठूला भाषणलाई मात्र ध्यान नदिई किनारामा पारिएका लोपोन्मुख जातिहरुको विभिन्न विषय वस्तुहरु पनि उठान गर्नुपर्नेमा जोड दिनुभयो ।