नेपालगन्ज, ४ माघ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले संविधानले व्यवस्था गरेको समयभित्र स्थानीय, प्रादेशिक र केन्द्रीय तहको निर्वाचन हुने बताउनुभएको छ ।
प्रेस सेन्टर बाँकेद्वारा आज नेपालगन्ज विमानस्थलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो – “निर्वाचनका लागि सबै दल तयारी अवस्थामा रहेकाले निर्वाचन हँुदैन कि भनेर प्रश्न उठाउनु सान्दर्भिक छैन ।”
संविधान संशोधन प्रस्तावको प्रक्रिया छुट्टै विषय भएकाले यसले निर्वाचनलाई प्रभावित नपार्ने बताउँदै मन्त्री कार्कीले समग्र राजनीतिक विषयलाई सम्बोधन हुने गरी दलहरूसँग छलफल गरेर सरकारले सहमतिको बाटो तय गर्ने स्पष्ट पार्नुभयो ।
सरकारका प्रवक्ता मन्त्री कार्कीको थप भनाइ थियो – “पक्ष र विपक्ष लोकतन्त्रको सुन्दर गहना हो, यदि मतभेद नभए भने मात्र डराउनुपर्छ, मतभेदले लोकतन्त्रलाई अझ परिष्कृत गर्छ र बलियो बनाउँछ ।”
उहाँले संविधान संशोधन प्रस्ताव सहमतिकै आधारमा पारित गरिने हरसम्भव प्रयास गरिने बताउँदै यदि सहमति हुन सकेन भने लोकतान्त्रिक पद्धतिको प्रक्रियाबाट छिनोफानो हुनेछ भन्नुभयो ।