काठमाडौ ४ माघ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्याय परिषदमा चरम राजनीतिकरण गरी न्यायालयलाई राजनैतिक भर्ती केन्द्रको रुपमा प्रयोग गरिएको बताउनु भएको छ । उहाँले न्याय परिषद जस्तो गरिमामय संस्थामा चरम राजनीतिकरण भएकोप्रति दुख व्यक्त गर्नुभयो ।
विराटनगर विमानस्थलमा आज सन्चारकर्मीसँग कुरा गर्दै उहाँले उच्च अदालतमा न्याय परिषदले गरेको सिफारिसको कडा आलोचना गर्नुभयो । न्याय क्षेत्रमा चरम राजनैतिक हस्तक्षेप भएको ओलीको भनाई छ ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका ओलीले कानुन नपढेका व्यक्तिहरुलाई पनि उच्च अदालतमा भर्ती गरेको आरोप लगाउनु भयो । यस्तै उहाले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावलाई विफल बनाउने दावी गर्नुभयो ।
अध्यक्ष ओलीले चुनाव घोषणा गर्न सरकारले सुनिश्चितता गर्न नसकेको भन्दै १० महिनाभित्र चुनाव नभए संवैधानिक र राजनीतिक रिक्तता आई संकटको अवस्था सिर्जना हुने र मुलुकमा जटिलता आउने स्पष्ट पार्नुभयो ।