काठमाडौ ४ माघ ।
चार दिने युएई भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्किनु भएको छ । स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सन्चारकर्मीसँग कुरा गर्दै उहाले सरकार स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको बताउनु भयो ।
युएई प्रस्थान गर्नुअघि प्रधानमन्त्री दाहालले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल समेत गर्नुभएको थियो । सरकार सबै पक्षको सहमति जुटाएर निर्वाचन घोषणा गर्ने तयारीमा जुटेका भन्दै प्रधानमन्त्री दाहालले मुलुकको आवश्यकता र चाहनालाई सम्बोधन गर्दै सरकारले निर्वाचनको मिति घोषणा गर्ने बताउनु भयो ।
प्रधानमन्त्रीले राजनीतिक सहमति पहिलो विषय भएकाले सरकार सोही दिशामा केन्द्रित रहेको स्पष्ट पार्नुभयो । युएइको अवुधावीमा सम्पन्न उर्जा सम्बन्धी विश्व सम्मेलनमा सहभागी हुन १० सदस्यीय प्रतिनिधिको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल गत शनिबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
नेपाल र युएइबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि सरकार प्रमुखको तहबाट भएको हालसम्मै उच्चस्तरीय भ्रमणको रुपमा आफूले लिएको प्रधानमन्त्रीले जानकारी गराउनुभयो ।
प्रधानमन्त्रीले आफ्ना समकक्षी शेख मोहम्मद विन रसिद अल मोक्तुमसँग आपसीहित, द्विपक्षीय सहयोग एवम् नेपाली कामदारको सुरक्षा र भरपर्दो रोजगारीका विषयमा कुराकानी भएको बताउनुभयो ।
सम्मेलनलाई विशेष वक्ताका रुपमा सम्बोधन गर्दै प्रधानमन्त्रीले जैविक एवम् परम्परागत ऊर्जाको स्रोतमा निर्भर रहेको विश्व समुदायले आगामी दिनमा दिगो, भरपर्दो, धान्न सकिने ऊर्जाको सुनिश्चितताका लागि सबै मुलुकले साझा सङ्कल्प गर्नुपर्नेमा जोड दिनुभएको थियो ।