काठमाडौ ४ माघ ।
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अबको निर्वाचनमा सबै राजनीतिक दल मिलेपनि एमाले अगाडि हुने दाबी गर्नुभएको छ । पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका गौतमले सरकारभन्दा पनि निर्वाचनमा एमालेको जोड रहेको बताउनुभयो ।
अनेरास्ववियुले आजदेखि सुरु गरेको ‘सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि अभियानको उद्घाटन गर्दै उहाँले सत्तारुढ दलले संविधान संशोधन विधेयक पारित गराउने सर्तमा सरकारमा सहभागी गरी फकाउने प्रयास गरिरहेको आरोप लगाउनु भयो ।
यद्यपी आफूहरुले प्रधानमन्त्री वा सरकारको लोभमा नपरी देशलाई विखण्डन हुने कुनै पनि विधेयक पारित गराउन दिने गौतमको भनाई थियो । कार्यक्रममा शिक्षाविद् डा मनप्रसाद वाग्लेले शिक्षककै कारण गुणस्तर शिक्षा दिन नसकिएको स्वीकार्दै नोट लेखाउने शिक्षकलाई बहिष्कार गर्नुपर्ने धारणा राख्नुभयो ।
शिक्षाविद् डा विद्यानाथ कोइरालाले किताबमा लेखिएका कुराभन्दा व्यावहारिक कुरा सिकाउनु पर्नेमा जोड दिनुभयो । शिक्षा मन्त्रालयका उपसचिव शिवप्रसाद उप्रेतीले सरकारको प्रयासले मात्र शिक्षामा गुणस्तर ल्याउन नसकिने भएकाले निजी क्षेत्रको पनि सहयोग हुनुपर्ने बताउनुभयो ।
अनेरास्ववियुका अध्यक्ष नविना लामाले शिक्षाको गुणस्तर अभिवृद्धि गर्न तीन महिने अभियान सञ्चालन गरिएको बताउनुभयो । अभियानको शुभारम्भ गर्दै उपाध्यक्ष गौतमले अखिलका केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य र केन्द्रीय सदस्यलाई झोला वितरण गर्नुभएको थियो ।