काठमाडौ ४ माघ ।
निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधिप्रसाद यादवले आगामी जेठ पहिलो सातामा निर्वाचन गर्नका लागि सरकारले यही माघ १५ गतेभित्र निर्वाचन सम्बन्धी कानुन बनाइसक्नु पर्ने बताउनु भएको छ । निर्वाचनका लागि अहिले पुरानो ऐन अनुुसार तयारी थालेको भन्दै उहाँले नयाँ ऐन निर्माण भएपछि त्यही अनुसार काम अघि बढाउने बताउनु भयो ।
रपोर्टर्स क्लब नेपालले आज राजधानीमा गरेको साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त डा यादवले २०७० सालको संविधान सभाको निर्वाचनपछि बनेको पहिलो सरकारको प्राथमिकता छ महिनाभित्र स्थानीय निकाय निर्वाचन गराउने रहेकामा अहिलेसम्म हुन नसक्नु दुःखद भएको टिप्पणी गर्नुभयो ।
सरकारले निर्वाचनका लागि ऐन बनाएर बाटो खुल गरे आफूहरु अहोरात्र खटेर काम गर्न तयार यादवको भनाई थियो । निर्वाचनका लागि मतदाता नामावली, मतदाता परिचय पत्र वितरण, मतपत्र, मतदानस्थल, मतदान, मतपेटिका, र मानव संसाधन आवश्यक रहेको उहाँले बताउनु भयो ।
स्थानीय तहको निर्वाचन एकै पटक सम्भव नभएको र चरणबद्ध निर्वाचनका लागि सुरक्षा निकायसँग छलफल भइरहेको उहाँले बताउनु भयो । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै पटक सम्भव नभएको स्पष्ट पार्नुहुदै उहाँले पहिले प्रदेश वा प्रतिनिधि सभाको निर्वाचन गर्नेमा जोड दिनुभयो ।