काठमाडौ ३ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जलविद्युत् क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्नुभएको छ ।
युएईको अबुधाबीमा जारी उर्जा सम्बन्धी सम्मेलन वल्र्ड फ्युचर इनर्जी समिटलाई सम्बोधन गर्दै उहाँले जलविद्युत् क्षेत्रको विकासमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यका साथ काम गरिरहेकाले लगानीको वातावरण तयार भएको बताउनु भयो ।
नेपालमा ८३ हजार मेगावाट विद्युत् उत्पादनको सम्भावना भएपनि प्राविधिक रुपमा ४२ हजार मेगावाट उत्पादन गर्न सकिने भन्दै प्रधानमन्त्री दाहालले लगानीका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभयो ।
नेपाललाई सन् २०२२ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति गर्नका लागि पनि आर्थिक विकास र समृद्धि जरुरी रहेको र त्यसको महत्वपूर्ण आधार नै जलविद्युत् क्षेत्र भएकाले लगानी बढाउनुपर्ने प्रधानमन्त्रीको जोड थियो ।
ऊर्जा उत्पादनका लागि सरकारले अलग्गै परियोजना विकास सम्झौता गर्ने नीति लिएको, एकद्वार प्रणाली र सहयोगी कर्मचारीतन्त्रले पनि विकासको आधार तयार पारेको र दक्षिण एसियामै लगानीका लागि सहज मुलुकका रुपमा स्थापित भएको प्रधानमन्त्रीको स्पष्टोक्ति थियो ।