काठमाडौ ३ माघ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राष्ट्रवादी दलहरुले राष्ट्रपति कार्यालयमै मधेसवादी शक्तिहरुविरुद्ध षड्यन्त्र गरेको दाबी गरेको छ । आज बसेको मोर्चाको बैठकले आफूहरुविरुद्ध झुटो प्रचार भएको निष्कर्ष निकालेको छ ।
बैठकले एमाले नेता भीम रावलमाथि कारबाही गर्न पनि माग गरेको छ । पुस २१ मा राष्ट्रपतिको आह्वानमा बसेको पाँच दलको बैठकमा पूर्व गृह तथा रक्षामन्त्री समेत रहनु भएका रावलले मधेसमा गुरिल्ला तालिम हुन लागेको रिपोर्टिङ गरेको भन्दै मोर्चाले असन्तुष्टी जनाएको छ ।
यसका लागि भारतीय नेता, सशस्त्र समूह र मधेसी मोर्चाका नेताहरुको संयुक्र बैठक भारतमा बसेको दावी गर्दै रावलले प्रधानमन्त्री कार्यालय बालुवाटारमा तीन पन्ने डकुमेन्ट समेत बुझाउनु भएको थियो ।
मधेसी मोर्चाका नेताहरु सहितको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेको दाबी जानकारी गराउनुका साथै सुरक्षा निकायसँग बुझ्दा त्यो झुटो प्रचार मात्र भएको पुष्टि भएको बताउनु भएको थियो ।
बैठकले राष्ट्रपति कार्यालय जस्तो गरिमामय स्थानमा कथित केही राष्ट्रवादी भनौदा दलहरुले मधेसी मोर्चा र मधेसवादी शक्तिहरुविरुद्ध गरिएको षड्यन्त्र निन्दनीय रहेको ठहर गरेको छ ।
झुटो सूचना सरकारलाई दिई राज्यलाई नै दिग्भ्रमित गर्ने उपर कडा कारबाही गर्न मोर्चाले सरकारसँग माग गरेको छ । मोर्चाले विज्ञप्तिमा रावलको नाम उल्लेख नगरेको भएपनि नेताहरुले आफूहरुको माग रावललाई कारबाही गर्नु पर्ने भएको रामसपाका महासचिव केशव झाले बताउनु भयो ।
यस्तै मधेसी मोर्चाले आफूले बुझाएको सुचीमा बाँकी रहेकाहरुलाई अविलम्ब शहिद घोषणा गर्न माग पनि गरेको छ । बैठकले हालै भएको उच्च अदालतका ८० न्यायाधीशको नियुक्ति समावेशी नभएको भन्दै विरोध गरेको छ भने संविधान संशोधन विधेयक परिर्माजनसहित पास गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।