काठमाडौ ३ माघ ।
चन्द्रागिरि हिल्स लिमिटेडले चन्द्रगिरी भ्रमणका लागि आउनेहरुका लागि विषेश छुटको व्यवस्था गरेको छ । यो माघ महिनाभरि प्रत्येक सोमबार केबलकारको टिकट खरिद गर्ने पहिलो १०८ जनाका लागि रु. १०८ मा नै टिकट प्राप्त गर्न सक्ने व्यवस्था गरेको व्यवस्थापन समितिले जनाएको छ ।
माघमहिनामा पर्ने सोमबार भगवान शिवका लागि पवित्र बार हुने विश्वास अनुरुप बिहान भालेश्वर महादेवको दर्शन गर्न जाने दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै चन्द्रागिरि केबलकारको टिकट खरिदमा छुटको व्यवस्था गरिएको हो ।
यस व्यवस्था अन्तर्गत एक जनाले एउटा मात्र टिकट लिन पाउनेछन् भने टिकट काठमाडौं थानकोटस्थित कम्पनीको टिकट काउन्टरबाट नै लिनुपर्ने जनाइएको छ ।
यसरी खरिद गरिएका टिकट सोहि दिनका लागि मात्र मान्य हुनेछन् । यो छुटको अवधिमा एक सय आठ टिकट लिनेहरुले अन्य छुट भने नपाउने जनाइएको छ । ऐतिहासिक तथा धार्मिक कथन समेत जोडिएको चन्द्रगिरी हिल्समा गत साउन २४ गतेदेखि व्यवसायीक रुपमा केबलकार सन्चालनमा ल्याएको हो ।
.केबलकार संचालनमा आएदेखि यही पौष सान्तसम्ममा २ लाख ८ हजार ४ सय १५ जनाले केबरकारको यात्रा गरेर भालेश्वर महादेवको दर्शन गरिसकेको चन्द्रगिरी हिल्स प्रा. लिले जनाएको छ । विश्वविख्यात केबलकार निर्माता अष्ट्रियन कम्पनी डोप्लमेयरको प्रविधि जडित केबलकारको प्रतिघण्टा एक हजार जना सम्म यात्रु बोक्ने क्षमता रहेको छ ।
यस्तै चन्द्रागिरि हिल्स लिमिटेडले चन्द्रागिरि केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा घुम्न आउने पर्यटकहरुको लागि अशोक लेलेण्डको ४२ सिट क्षमता भएको निशुल्क बस सेवाको समेत व्यवस्था गरेको छ ।

