काठमाडौ ३ माघ ।
संघिय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले दलहरुको सहमतिमा छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिने बताउनु भएको छ । संविधानलाई आवश्यक परिमार्जन गरेर भएपनि निर्वाचनमा जाने मन्त्री पाण्डेले बताउनुभयो ।
रिपोटर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पाण्डेले निर्वाचन सम्बन्धी विधेयक संसद्बाट चाँडो पारित गरेर निर्वाचनको मिति घोषणा गर्न सरकार आतुर रहेको धारणा राख्नु भयो ।
सबै समुदायको भावनालाई समेट्ने गरी संविधान संशोधन उहाँको भनाई छ । कार्यक्रममा नेपाली काँग्रेसका नेता नारायण प्रकाश साउदले निर्वाचन समयमै हुनुपर्छ भन्ने काँग्रेसको धारणा रहेको र त्यसका लागि वातावरण निर्माण गर्न आफ्नो पार्टी लापिरेको बताउनुभयो ।
संसद्को ठूलो दल र सत्तासाझेदार दलको हैसियतमा कांग्रेसले जारी गतिरोध अन्त्यको लागि महत्वपूर्ण भूमिका खेलिरहेको साउदले बताउनु भयो । उहाँले संविधान संशोधन र स्थानीय निकायको निर्वाचनका लागि नेकपा (एमाले) र मधेसी मोर्चालाई लचक हुन आग्रह समेत गर्नुभयो ।
नेकपा (एमाले)का नेता लालबाबु पण्डितले एमालेको प्राथमिकता निर्वाचन भएकाले निर्वाचनको वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभयो । पूर्वमन्त्री समेत रहनु भएका पण्डितले निर्वाचन र संविधान कार्यान्वयनका लागि एमाले सधँै तयार रहेको धारणा राख्नुभयो ।
नेपाल सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले मधेसी मोर्चा निर्वाचनको पक्षमा रहेको भएपनि जबर्जस्ती निर्वाचन गर्न खोजिए आफूहरुलाई मान्य नहुने बताउनुभयो । पहिले संविधान संशोधन गरी स्थानीय तहको निर्वाचनमा जानुपर्नेमा कर्णको जोड थियो ।