काठमाडौ १ माघ ।
नेपाली कांग्रेसका दुई जना सांसदले सरकारले संसदमा टेबल गरेको संविधान संशोधनको विधेयकको विरुद्धमा मतदान गर्ने घोषणा गरेका छन् ।
नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा गुल्मी क्षेत्र नम्बर २ का सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी र रोल्पा क्षेत्र नम्बर २ का सांसद एवं रोल्पाका पार्टी सभापति अमरसिंह पुनले संशोधन प्रस्तावको विरुद्धमा मतदान गर्ने घोषणा गर्नुभएको हो ।
राष्ट्रियता जोगाउन र नागरिकलाई सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि आफ्नै पार्टी सहभागी सरकारले दर्ता गरेको प्रस्तावको विपक्षमा मतदान गर्ने भन्दै भण्डारी र पुनले संशोधनको विपक्षमा मतदान गर्ने बताउनु भएको छ ।
कार्यक्रममा नेता भण्डारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई देखाउनका लागि भएपनि संविधान संशोधन प्रस्ताव असफल हुनुपर्ने बताउनुभयो ।
उहाँले अहिले कै रफ्तारमा अंगिकृतलाई नागरिकता दिने हो भने पाँच वर्षपछि नेपालको भविष्य नै संकटमा पर्ने बताउनुभयो । सांसद अमरसिंह पुनले राष्ट्रिय अखण्डताका लागि संशोधन प्रस्ताव असफल पार्नुपर्ने बताउनुभयो ।