काठमाडौँ, १ माघ ।
दोस्रो राष्ट्रिय योग दिवस आज सरकारी तथा योगसँग सम्बन्धित बिभिन्न गैरसरकारी संघ सस्थाले बिबिध कार्यक्रम गरी मनाईदैछ ।
विसं २०३६ साल देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।
तर मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गरेपछि यो दिवश सरकारी पक्षबाट नै मनाउन थालिएको हो । गत वर्ष पहिलो राष्ट्रिय योग दिवस मनाइएको थियो ।
आज शिक्षा मन्त्रालयले बिशेष कार्यक्रममाको आयोजना गदैछ । वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको कथन छ ।
प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुने बिश्वासका साथ आजका दिन यो दिवह नाउन थालिएको हो ।
योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् ‘मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो’ भनिएको छ ।
इसापूर्व १६०० मा रचना गरिएको आयुर्वेदिक ग्रन्थ चरकसंहितामा मनलाई जित्ने सत्वावजय चिकित्सा पद्धतिको विकास हिमालय क्षेत्रको वनमा ऋषिमुनिले योग, ध्यान साधना र तपस्याद्वारा गरेको उल्लेख छ ।
योग दिवस मनाउन थालेपछि नेपालमा योग र आयुर्वेदको क्षेत्र विकसित हुने यस क्षेत्रमा लाग्नुभएका स्नातकोत्तर योग विज्ञान एसोसियसन नेपालका अध्यक्ष क्षितिज बराकोटीको विश्वास छ ।
नेपालमा योग र प्राकृतिक चिकित्साको औपचारिक अध्ययन अध्यापन नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा हुँदै आएको छ । प्रवेशिका गरेकालाई छ महिनाको योग र प्राकृतिक चिकित्साको तालिम दिने गरिएको हो ।
योग दिवसका अवसरमा नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिले माघ १ गतेदेखि एकहप्ते योग शिविरको आयोजना गरेको छ ।