काठमाडौ २९ पौष ।
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधन छोडेर दलहरु स्थानीय तहको निर्वाचनतर्फ अग्रसर हुनुपर्ने बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज सन्चारकर्मीसँग कुरा गर्दै उहाँले स्थानीय तह निर्वाचन गर्नमा ढिलाइ गरिए मुलुक गम्भिर संकटमा फस्ने सम्भावना रहेको बताउनु भयो ।
संविधान संशोधन विधेयक पारित हुने सम्भावना नरहेको भन्दै उहाँले एमालेसँग एक तिहाइभन्दा बढी सांसद रहेकाले विधेयक संसद्बाट पारित नहुने जिकिर गर्नुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता खनालले संविधान कार्यान्वयनमा अहिले सबैको ध्यान केन्द्रीत सरकारले संविधान संशोधनको विधेयक दर्ता गरेर ठिक नगरेको तर्क गर्नुभयो ।
फरक प्रसंगमा उहाँले मधेसी मोर्चाले मधेसबाट एमालेको बिदाइ गर्नेजस्ता अभिव्यक्ति असंगतिपूर्ण रहेको र संविधानलाई मान्नुबाहेक अन्य कुनै विकल्प नरहेको धारणा राख्नुभयो ।