काठमाडौ २९ पौष ।
संविधान संशोधन विधेयक संसदमा टेबल भएको पाँच दिन बितिसक्दा पनि त्यसलाई अघि बढाउने सम्बन्धमा सरकारले केही पहल नगरेको भन्दै असन्तुष्ट मधेशी मोर्चाले मोर्चाले संशोधन विधेयक पारित गरेर मात्र निर्वाचनको मिति घोषणा गर्न सत्तारुढ दललाई आग्रह गरेको छ ।
सत्तासाझेदार दल कांग्रेस माओवादीसँग आज बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलमा मोर्चा नेताहरुले परिमार्जनसहित संशोधन विधेयक पारित नभएसम्म आफूहरु चुनावमा जान नसक्ने प्राष्ट पारेको फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर राय यादवले जानकारी दिनुभयो ।
संसदमा टेबल भएको संविधान संशोधन विधेयक पारित नभइ कुनैपनि चुनाव हुन नसक्ने भन्दै मोर्चाले सरकारको ध्यानाकर्षण गराएको छ । सरकारले यही माग पहिलो साता स्थानीय निकायको निर्वाचन मिति घोषणा गर्ने तयारी अघि बढाएको बताएपछि मोर्चा नेताहरुले संशोधन विधेयक पारित हुनुपर्ने विषयलाई प्रमुख शर्तका रुपमा अघि सारेका हुन् ।
यस्तै बैठकमा सिमांकन आयोग गठन लगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । सर्बोच्च अदालतले संविधान संशोधन प्रस्तावबारे संसदमा छलफल गर्न बाटो खोलिदिए पनि सरकारले खुलस्त रुपमा यसबारे कुनै निर्णय गर्न नचाहेको भन्दै मोर्चा सरकारप्रति असन्तुष्ट रहेको छ ।