काठमाडौ २६ पौष ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पृथ्वीनारायण शाहको भुमिकालाई नदेख्नु भनेको इतिहासको भौतिकवादको ब्याख्या भन्दा बाहिर गएर इतिहासको विकास क्रमलाई स्वीकार नगर्नु ठहरीने बताउनु भयो ।
पृथ्वीनारायण शाहको भूमिकाको प्रशंसा गर्दै उहाँले इमान्दार नागरिकले गौरव गर्न सक्नुपर्ने बताउनु भयो । भरतपुर उपमहानगरपालिकाको तेस्रो नगरपरिषदको आज उद्धघाटन गर्दै उहाँले नेपाल एकिकरणमा शाहले खेलेको भूमिकालाई सकारात्मक रुपमा लिनुपर्ने टिप्पणी गर्नुभयो ।
नेकपा माओवादीका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री दाहालले द्धन्द्धकालमा राजाको शालिक भत्काउनु पर्छ भन्ने उन्माद बोकेर हिँडेका आफ्ना पार्टी कार्यकर्तालाई नभत्काउन आफूले कडा निर्देशन दिएको बताउनुभयो ।
पौष २७ गते पर्ने पृथ्वीनारायण शाहको जन्म जयन्तीका दिन विदा घोषणा गर्ने बिषय बहसमै रहेको बताउँदै उहाँले मधेस र आदिवासी जनजातिका बिचमा शाहको भूमिकालाई कसरी हेर्ने भन्ने बहस पनि रहेको जानकारी दिनुभयो ।
विदा दिने या नदिने बिषयमा मन्त्रिपरिषदमा दुई पटक छलफल भएको बताउँदै उहाँले सबै राजनीतिक दलका बिचमा छलफल गरेर निकास निकाल्न आफूले पहल गर्ने धारणा राख्नुभयो ।