काठमाडौँ, २६ पुस ।
संसदको विकास समितिले अन्तर्रा्ष्ट्रिय क्षेत्रमै नमुना परियोजनाका रुपमा रहेको नेपालको साना सहरी खानेपानी तथा सरसफाइ कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन निर्देशन दिएको छ ।
आज बसेको समिति बैठकले हाल दोस्रो चरणमा मुलुकका २१ साना सहरमा कार्यान्वयनको चरणमा रहेका परियोजनालाई थप चुस्त तुल्याउँदै विस्तार गर्न निर्देशन दिएको हो ।
एसियाली विकास बैंकको ऋण सहयोगमा सन्चालीत उक्त परियोजनाबाट तीन लाख ६० हजार जनता लाभान्वित हुने अनुमान गरिएको छ । पहिलो चरणमा २९ साना सहरमा सञ्चालित परियोजनाबाट छ लाख लाभान्वित भएका थिए ।
बैठकले मिति तोकेर आयोजना पूरा गर्ने लक्ष्य र कार्यक्रम बनाउन, उपभोक्ताको हितलाई हेरेर सहुलियत र छुटका कार्यक्रम अघि बढाउन तथा नारा दिने तर कार्यान्वयन नहुने अवस्था अन्त्य गर्ने खानेपानी तथा सरसफाइ मन्त्रालयलाई निर्देशन दिएको छ ।
यसैबीच बैठकमा खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले गुणस्तरीय खानेपानी वितरण र आयोजनालाई दीर्घजीवी तुल्याउने कार्यमा उपभोक्तालगायत सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।
मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले सना सहरी खानेपानीका लागि सरकारले रु ३२ करोड उपलब्ध गराएको बताउनुभयो ।
अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले खानेपानी आयोजनामा तराईमा सिँचाइमा दिइएको जस्तो छुट दिने विषयमा मन्त्रालय सकारात्मक रहेको बताउनु भयो ।
बैठकमा सांसदहरुले सहरमा स्वच्छ खानेपानी र पहाडमा आधारभूत खानेपानीकै हाहाकार रहेको तर्फ गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका थिए ।