काठमाडौ २५ पौष ।
प्रस्ताव पारितका लागि कोरम नपुगेपछि व्यवस्थापिका संसदको बैठक स्थगित भयो । स्थानीय तह निर्वाचन विधेयकलाई सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नका लागि सांसद संख्य नपुगेपछि संसद बैठक आधा घन्टाका लागि स्थगित भएको हो ।
गणपुरक संख्या नभएको भन्दै सांसदहरुले नियमापत्ती गरेपछि सभामुख ओनसरी घर्ती मगरले बैठकमा उपस्थित सांसदको गाणना गर्न लगाउनुभएको थियो ।
गणना गर्दा बैठकमा एक सय ४९ सांसद उपस्थित हुनु पर्नेमा एक सय १६ जनामात्र उपस्थित भएपछि सभामुखले घर्तीले बैठक आधाघन्टाका लागि स्थगित भएको घोषणा गर्नुभयो ।
तर बैठकमा हाजिरी फाइलमा नाम टिपाएका सांसदको संख्य भने चार सय चार जनाको रहेको थियो । झण्डै दुई महिनापछि चलेको संसदमा आज बैठकको सुरुवातदेखि नै थोरै मात्र सांसदको उपस्थिति थियो ।
आजको बैठकमा ‘स्थानीय तह निर्वाचन विधेयक र निर्वाचन कसुर तथा सजाय विधेयक २०७३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरिएको छ ।
गृहमन्त्री विमलेन्द्र निधिले पेस गरेको उक्त प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरुले हरेक पाँच वर्षमा स्थानीय निर्वाचन हुने गरी विधेयकमै निर्वाचन मिति तोक्न, स्थानीय तहको सीमा र संख्याको विवाद टुंग्याइ निर्वाचनसम्बन्धी विधेयक छिटो पास गर्नुपर्नेमा जोड दिएका छन् ।
यस्तै, स्थानीय तह पुनःसंरचना आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने तथा निर्वाचनको लागि सबै दल एक हुनुपर्ने सुझाव उनीहरुको छ ।
बैठकले राष्ट्रिय महिला आयोग विधेयक २०७३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ ।
यस्तै, बैठकमा अर्थ समितिका सभापति प्रकाश ज्वालाले, बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयकको सम्बन्धमा समितिको पूरक प्रतिवेदन पेस गर्नुभयो ।
त्यसैगरी आजको बैठकमा ‘राष्ट्रिय महिला आयोग विधेयक, २०७३ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ ।