काठमाडौ २२ पौष ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले अघि बढाएको संविधान संशोधन विधेयकलाई आफ्नो पार्टीले समर्थन नगर्ने बताउनु भएको छ ।
धुमबाराहीस्थित पार्टी केन्द्रिय कार्यलयमा आज बिहान रिपोर्टर्स क्लब नेपालका पदाधिकारीसँग कुरा गर्दै उहाँले यथास्थितिमा आफ्नो पार्टीले संशोधन विधेयकलाई समर्थन गर्न नसक्ने स्पष्ट पार्नुभयो ।
थापाले विधेयक ल्याएको एक महिना बितिसक्दा पनि आफूहरुले पटक–पटक गरेको आग्रहका बाबजुद एक पटक पनि आफ्नो पार्टीसँग छलफल नगरिएको गुनासो समेत व्यक्त गर्नुभयो ।
आफूहरुसँग छलफल नगरी ल्याइएको विधेयकको समर्थन गर्न आफूहरुलाई कुनै नैतिक र राजनीतिक बन्धन नरहने थापको भनाई छ । उहाँले विधेयकका केही दफाहरु राष्ट्रिय हित विपरित रहेकाले नयाँ शिराबाट समझदारी कायम गरेर मात्र अघि बढ्न सरकारलाई आग्रह गर्नुभयो ।
स्थानीय निकाय पुनर्संरचना आयोगले प्रतिवेदन तयार पारिसकेपछि पनि त्यसलाई बुझ्न सरकारले आनाकानी गर्नु घोर आपत्तिजनक रहेको भन्दै थापाले प्रतिवेदन बुझ्न र स्थानीय तहको निर्वाचनमा तत्काल जान सरकारसँग आग्रह गर्नुभयो ।