रामेछाप , २१ मंसिर ।
रामेछापमा कार्यरत पुननिर्माणका प्राविधिकहरु फिल्ड भत्ता लगायतका सेवा सुविधाको माग गर्दै फेरी आन्दोलनमा उत्रिएका छन् ।
गत असोजमा सरकार र प्राधिकरणका उच्च अधिकारीहरुले माग संबोधन गर्ने आश्वासन दिए पनि हालसम्म कुनै सुनुवाइ नभएको भन्दै उनीहरुले आजदेखि पुन पुननिर्माणका काम रोकेर आन्दोलन सुरु गरेका हुन् ।
जिल्लामा झण्डै २ सय प्राविधिकहरुले आज कामकाज ठप्प पार्दै जिल्ला सदरमुकाम पुगि भूकम्प पुननिर्माणको समेत जिम्मेवारी सम्हाल्नुभएका आयोजना प्रमुख अमरबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् ।
करारमा नियुत्त भई काम गर्दै आएका उनीहरुले शहरी विकास डिजिभन कार्यालयमा आयोजना प्रमुख थापालाई ज्ञापन पत्र बुझाउदै माग पूरा नभएसम्म कामकाज रोक्ने र सामूहिक राजीनामा समेत दिने चेतावनी समेत दिएका छन् ।
प्राविधिकहरुले फिल्डमा काम गर्ने कर्मचारीलाई फिल्ड भत्ता, विमा, सञ्चार, कार्यालयको व्यवस्थापन र यातायात लगायतको सुविधा माग गर्दै आएका छन् ।
ज्ञापन पत्र बुझ्दै थापाले प्राविधिकहरुले उठाएको मागहरु माथिल्लो निकायमा पठाइने जानकारी दिनुभयो ।