काठमाडौ १९ मंसिर ।
नेकपा एमालेका उप–महासचिव विष्णु प्रसाद पौडेलले वर्तमान राजनितिक जटिलता अन्त्य गर्न र सरकारले आफूलाई सुरक्षित राख्नका लागि संविधान संशोधनको प्रस्ताव फिर्ता लिनुपर्ने बताउनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले नेपाली जनताको सात दशक देखिको चाहाना, भावना र अथक प्रयासले ल्याएको संविधानलाई धरापमा पार्न खोज्नु कसैको लागि राम्रो नहुने बताउनु भयो ।
सरकारले ल्याएको संविधान संशोधन प्रस्तावले देश मुठभेडमा जाने पौडेलको दावी थियो । अधिकांश सांसदको असमतिका बीच सरकारले ल्याएको संशोधन प्रस्ताव पारित हुन नसक्ने उहाँको भनाई छ ।
बुटवलमा पाँच नम्बर प्रदेशलाई अखण्ड राख्नको लागि लाखौं मानिस सडकमा आएको चर्चा गर्दै उहाँले समयमै संविधान संशोधन प्रस्ताव फिर्ता लिएर देशमा उत्पन्न स्तिथिको अन्त्य गर्न तर्फ सरकार केन्द्रित हुन सुझाव समेत दिनुभयो ।
उहाँले संविधान संशोधन प्रस्ताव पारित हुन नदिनको लागि एमाले जुनसुकै कदम चाल्न तयार रहेको बताउनु भयो ।