काठमाण्डौ ,११ कार्तिक ।
सरकारले बन्द भएका प्रतिष्ठित कम्पनीलाई निजीस्तरलाई ठेक्कामा सञ्चालन गर्न दिने तयारी गरेको छ ।
उद्योमन्त्री नवीन्द्रराज जोशीले चल्दा चल्दै बन्द भएका र रुग्ण उद्योगहरु निजी क्षेत्रलाई दिएर छिट्टै सञ्चालनमा ल्याउने तयारी भईरहेको बताउनु भयो । मन्त्री जोशीले ‘बन्द भएका उद्योगहरु पुन सञ्चालन गर्ने निर्णय सरकारले गरिसकेको दाबी गर्नुभयो ।
जर्मन प्राविधिक शिक्षालयको कार्यालय शिलान्यासका क्रममा जीवनपुरस्थित ढकालखोला पुग्नुभएका मन्त्री जोशीले हेटौंडा कपडा उद्योग, वीरगन्ज चिनी कारखाना, नेपाल औषधि लिमिटेड, बुटवल धागो कारखाना, लगायतलाई टेण्डर आव्हान गरी निजी क्षेत्रलाई सञ्चालन गर्न दिइने निर्णय गरिएको जानकारी गराउनु भयो ।
निजी क्षेत्रलाई खुल्ला प्रतिस्पर्धाबाट छनौट गरी उद्योग सञ्चालन गर्न दिन अध्ययन समिति समेत गठन गरिएको उहाले बताउनु भयो ।
हेटौंडा कपडा कारखाना तत्काल सञ्चालनमा ल्याई नेपाल सरकारका कर्मचारी, सेना, प्रहरी, शिक्षक र विद्यार्थीहरुका लागी आवश्यक पर्ने औपचारिक पोशाक उत्पादन गर्ने योजना रहेको मन्त्री जोशीको भनँई छ ।
सरकारले सरकारी उद्योगहरुको जग्गा नबेच्ने, उद्योगका नाममा ऋृण नलिने र नोक्सान नबेहोर्ने समेत बताउँदै मन्त्री जोशीले आगामी १० वर्षमा देशको युवा जनशक्तिलाई देशमै खपत गराई वैदेशिक रोजगार तर्फ विमुख गराउने सरकारी लक्ष्य रहेको बताउनु भयो ।
क्रसर तथा रोडा उद्योगहरु सञ्चालन गर्ने वर्तमान मापदण्डले क्रसर उद्योग सञ्चालन र लगानीमा कठिनाई उत्पन्न भएकोले व्यवसायनै धरासायी हुँदै गएको महशस गरिएकाले सरकारले नयाँ नीति ल्याउन लागेको पनि उहाले बताउनु भयो ।
चुरे क्षेत्र जोगाउन लागु गरिएको मापदण्ड सबै जिल्लामा लागु गर्न कठिनाई भएका कारण जिल्ला पिच्छे भौगोलिक अवस्था हेरेर मापदण्ड तय हुने बताउँदै मन्त्री जोशीले उक्त मापदण्ड हेरफेर गरि परिमार्जन गर्न उद्योग सचिवको संयोजकत्वमा ५ मन्त्रालयका सचिवहरुको अध्ययन तथा मापदण्ड परिमार्जन समिती गठन गरिएको बताउनु भयो ।