काठमाडौं ,कार्तिक ९ ।
व्यवस्थापिका संसदको विकास समितिले सवारी दुर्घटना न्युनिकरणका लागी अन्तराष्ट्रिय मापदण्ड अनुसारको गुणस्तरीय सडक निर्माण र सडकको स्तरउन्नतिका लागी आवश्यक पर्ने वजेट विना अबरोध उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा आज बसेको समितिको बैठकले त्यसका लागि प्राविधिक करार वा अस्थाई रुपमा लिई ६ महिना भित्र उपलब्ध गराउन, गुणस्तरहीन निर्माण सामग्री आयात नगर्न र नगराउन तथा सडक तत्काल मर्मतका लागि मोबाईल मेन्टिनेन्स डिभिजन खडा गर्न पनि निर्देशन दिएको छ ।
हाल निर्माण भएका सडक गुणस्तहीन भएकाले बनेको केही महिनामै भत्किने र मर्मत सम्भार गर्नुपर्ने निश्बर्ष निकाल्दै बैठकले गुणस्तरीय सडक निर्माण नगर्ने निर्माण ब्यवसायी र संलग्न कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको छ ।
साथै समितिले सम्बन्धीत मन्त्रालयहरुलाई पनि यसै आर्थिक बर्ष्भित्र उपत्यकाका सबै जिर्ण सडकको स्तरोन्नति, नदिकिनारका करिडोर तीन महिनाभित्र सञ्चालन गर्न तथा अत्याधिक सवारी चाप हुने स्थानमा फ्लाई ओभर निर्माण गर्न भनेको छ ।
समितिले राष्ट्रिय सतर्कता केन्द्रलाइ गुणस्तरहीन सडक निर्माण नगर्ने बिरुद्ध सक्रियता बढाउन पनि निर्देशन दिएको छ ।
भौतिक पूर्वधार यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक र राष्ट्रिय सर्तकता केन्द्रका प्रमुख अधिकारी उपस्थित समितिको बैठकले सबै प्रदेशमा सडकको स्थलगत अध्ययनका लागि ७ वटा उपसमिति समेत गठन गर्ने निर्णय गरेको छ ।
यस्तै समितिले रसुवागढी सडक, पोखरा–बेनी–जोमसोम, अरनिको राजमार्ग, हुलाकी राजमार्ग, चैनपुर–ताक्लाकोट तथा राजधानीका सडक निर्माणको कार्यप्रगति, मर्मत सम्भार र स्तरउन्नतिका लागि भईरहेका प्रयासबारे जानकारी लिएको थियो ।