काठमाडौं, कार्तिक ५ ।
पुरातत्व विभागले नै रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण गर्ने निर्णय भएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल र काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ सम्मिलित बैठकले यस्तो निर्णय गरेको हो ।
‘विभागले दिएको नमुना ढाँचाअनुसारको काम प्राविधिक कारणले महानगरपालिकाले गर्न कठिन भएकाले मन्दिर पुनःनिर्माणको जिम्मेवारी विभागलाई दिने निर्णय भएको प्रवक्ता रामप्रसाद थपलियाले बताउनु भयो ।
विभागकै नमुना ढाँचाअनुसार मन्दिरको पुनःनिर्माण हुने भएको छ ।
महानगरपालिकाले निर्माण गरेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण मापदण्डअनुसार नभएको भन्दै विभागले आपत्ति जनाएपछि केही समयदेखि मन्दिर पुनःनिर्माण अवरुद्ध भएको थियो।
बैठकमा भएको सहमतिअनुसार रानीपोखरीको बालगोपालेश्वर मन्दिर बाहेकका निर्माण गर्नुपर्ने सबै कामको निर्माण कार्य महानगरपालिकाले यथाशीघ्र कार्यान्वयन गर्ने गराउने पूर्ववत् निर्णयलाई प्राथमिकता दिइने भएको छ।
रानीपोखरीमा भाइटीका एवम् छठ पर्वका कार्यक्रम सहज बनाउन महानगरपालिकाले नेतृत्व लिई आवश्यक व्यवस्थापन गर्ने गराउने निर्णय भएको प्रवक्ता थपलियाले बताउनु भयो ।
काठमाडौं दरबार क्षेत्रलाई सुव्यवस्थित बनाउने सम्बन्धमा गुरुयोजना तयार पार्नका लागि महानगरपालिकाले अध्ययन गराउने कार्य अघि बढाइने भएको छ । यसका लागि प्राधिकरणले महानगरपालिका र विभागलगायतका सम्बन्धित निकायसँग आवश्यक सहजीकरण एवम् समन्वय गर्ने निर्णय भएको उहाले बताउनु भयो ।
काठमाडौं दरबार क्षेत्रमा बन्ने वा बन्दै गरेका मापदण्ड विपरीतका निजी घरका सम्बन्धमा महानगरपालिका र विभागले अनुगमन गरी अनधिकृतरुपमा बन्न लागेको पाइएमा तत्काल निर्माण कार्य रोक्ने सहमति समेत बैठकमा भएको छ । काम रोकिएकोे प्रतिवेदन प्राधिकरणमा पठाउने सहमति पनि आजको त्रिपक्षीय बैठकमा भएको छ।