पाँच वर्षमा थानकोट–नागढुङ्गा सुरुङमार्ग बन्ने

पाँच वर्षमा थानकोट–नागढुङ्गा सुरुङमार्ग बन्ने

  • आइतवार, अशोज १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौँ, असोज १६। 
राजधानी भित्रिने मुख्य नाका थानकोट–नागढुङ्गा सुरुङमार्ग निर्माण अबको पाँच वर्षभित्र सम्पन्न हुने बताइएको छ ।  सडक विभाग, वैदेशिक महाशाखाका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले थानकोटको नागढुङ्गाबाट धादिङको सिस्नेखोला निस्कने गरी निर्माण गर्न लागिएको सुरुङमार्गको सम्भाव्यता अध्ययन पूरा भएको बताउँदै सन् २०२१ सम्म सो मार्गको सम्पूर्ण निर्माण सम्पन्न हुने जानकारी दिनुभयो ।

जापानी सहयोग नियोग (जाइका)को सहयोगमा जापानी परामर्शदाता संस्थाले सो सुरुङमार्ग निर्माणसम्बन्धी सम्भाव्यता अध्ययन गरेको थियो ।  अध्ययन प्रतिवेदनले सुरुङमार्ग निर्माण सहज ढङ्गले गर्न सकिने सम्भावना देखाएको उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले बताउनुभयो ।  उहाँका अनुसार सुरुङमार्ग निर्माणको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)को कामसमेत सम्पन्न
भइसकेको छ ।
सुरुङमार्ग निर्माण गर्न जापानी सहयोग नियोग (जाइका) सँग १६ अर्ब रुपियाँ ऋण सहयोगका लागि सम्झौताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी पनि उहाँले दिनुभयो ।  अबको डेढ महिनाभित्र सम्झौता हुनेछ ।
उहाँले भन्नुभयो, “सम्भाव्यता अध्ययनको प्रतिवेदनपछि परामर्शदाता चयन र विस्तृत डिजाइन प्रतिवेदन (डीपीआर) तयारीका लागि कम्पनी छनोटको प्रक्रिया अगाडि बढाइएको छ, यसका लागि विभिन्न कम्पनीले इच्छा व्यक्त गरे पनि त्यो छनोटको प्रक्रियामा रहेको छ ।  उहाँका अनुसार जापानको निपन कोई र सीटीआईमध्ये कुनै एउटालाई परामर्शदाताको रूपमा छनोट गर्ने प्रक्रिया अघि बढाइएको छ ।
अबको दुई महिनाभित्र डीपीआर तयार गर्न कम्पनी छनोटको प्रक्रिया टुङ्गो लाग्ने जानकारी दिँदै उहाँले छनोट भएका कम्पनीबाट एक वर्षभित्र विस्तृत डिजाइन प्रतिवेदन प्राप्त हुने र अबको डेढ वर्षभित्र सुरुङको निर्माण कार्य सुरु हुने जानकारी दिनुभयो ।
डीपीआरबाट सुरुङमार्गको डिजाइन र लागत प्राप्त हुने पनि उहाँले बताउनुभयो ।  डीपीआर तयार भएपछि निर्माण कार्यका लागि टेन्डर आह्वान गरिने र निर्माण कार्य सुरु भएको तीन वर्षभित्र सम्पूर्ण निर्माण सकिने उहाँले जानकारी दिनुभयो ।  सुरुङमार्ग निर्माणका लागि जग्गा प्राप्ति र अधिग्रहणको काम भइरहेको बताउँदै उहाँले चालू आर्थिक वर्षमा यो काम सम्पन्न हुने
जानकारी दिनुभयो ।
प्रस्तावित सुरुङमार्गको कुल लम्बाइ साढे दुई किलोमिटर र चौडाइ करिब १२ मिटर हुनेछ ।  थानकोटमा रहेको अहिलेको सडकखण्डबाट सुरुङमार्गको बाटो तल झर्ने र १५ सय मिटरको ‘अप्रोच’ बाटोपछि सुरुङमार्ग सुरु हुने  उपमहानिर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।  सुरुङमार्गको उचाइ आठ मिटर हुनेछ ।
सुरुङमार्ग तीन लेनको हुनेछ ।  सुरुङमार्गको तीन लेनमध्ये दुई लेन राजधानी भित्रिने हुनेछ भने एक लेन राजधानीबाट बाहिरिने सवारी साधनका लागि छुट्ट्याइनेछ ।  सुरुङमार्ग थानकोटबाट सुरु भई धादिङको सिस्नेखोलामा निस्कनेछ ।
सुरुङमार्गको मर्मतसम्भारका लागि सवारी साधनबाट ‘टोल ट्याक्स’ उठाउने अवधारणा अघि सारिएको सडक विभागले जनाएको छ  ।
सडक विभागले ‘सर्विलियन्स पद्धति’ अनुसार यो सुरुङमार्गको अनुगमन गर्नेछ ।  यसका लागि सडक विभागमा एउटा अनुगमन कार्यालयको स्थापना गरिनेछ ।
मुलुककै पहिलो टनेल सडकका रूपमा प्रस्तावित सुरुङमार्गको निर्माण प्रक्रियालाई अगाडि बढाउन चालू आर्थिक वर्षको बजेटमा एक अर्ब ६७ करोड रुपियाँ विनियोजन गरिएको छ ।  यो सुरुङमार्गले अबको डेढ दशकसम्म हुनसक्ने सवारी चापलाई धान्नसक्ने विश्वास सरकारको छ ।
अहिले त्रिपुरेश्वर–कलङ्की सडकखण्डमा दैनिक २० हजार सवारीसाधन गुड्ने गर्छन् भने कलङ्की–नागढुङ्गा सडकखण्डमा दैनिक आठ हजार सवारीसाधन गुड्ने गर्छन् ।
पृथ्वी राजमार्गको सवारी चाप र जामलाई न्यून गर्न नागढुङ्गादेखि नौबिसे खानीखोलासम्मको सडक चौडा गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
सरकारले २० वर्षे दीर्घकालीन सडक गुरुयोजना (सन् २००२–२०२२) अन्तर्गत मुलुकका विभिन्न भागमा सडक निर्माण गरिरहेको छ ।  २० वर्षे यो दीर्घकालीन सडक गुरुयोजना अनुसार पहाडमा चार घण्टामा र तराईमा दुई घण्टा पैदल दूरीमा पक्की सडक सुविधा पुग्ने गरी सडक सञ्जालको विकास गर्ने लक्ष्य राज्यले लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी