काठमाण्डौ ,१६ भदौ ।
सूर्योदय र सूर्यास्तको अवलोकनका लागि चन्द्रागिरी पहाड एउटा उपयुक्त गन्तव्य स्थल हो । यो एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य हो ।
नेपालका अधिकांश हिमालहरु यहाँबाट हेर्न पाइन्छ । क्षणभरमै बदलिने यहाँको मौसमले विविधताले भरिएको छ ।
काठमाडौंकै सबैभन्दा अग्लो स्थान चन्द्रगिरी उचाइ समुद्र सतहबाट २५५१ मिटरको उचाइमा छ । फागुपुर्निमामा चन्द्रागिरि पर्बत माथि रहेको भोलेश्वोर महादेव स्थानमा बिशेष मेला लाग्ने गर्दछ ।
चन्द्रगिरि पहाडबारे धेरैले स्वस्थानीको किताबमा पढेका छन् कि यो त्यही ठाउँ हो, जहाँ सतिदेवीको भाल पतन भएको थियो । भगवान महादेवले आफ्नी प्रिय सतीदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा चन्द्रागिरी पर्वतमा पुगेको हिमवत खण्डमा उल्लेख छ ।
पवित्र धार्मिक तथा ऋषिमुनिको तपस्या स्थल चन्द्रागिरिको चुच्चुरोमा महादेव पुग्दा सतीदेवीको भाल अर्थात् निधार पतन भएको र शिवलिङ्ग उत्पत्ति भएको हिमवत खण्डको ९८ र ९९ औं अध्यायमा वर्णन गरिएको छ ।
चन्द्रगिरिको अर्को विशेषता पुथ्वीनारायण शाहले यहीँबाट पहिलोपटक काठमाडौं देखेका थिए र उनमा उपत्यका कब्जा गर्ने तृष्णा पलाएको थियो ।
तर, अहिले चन्द्रगिरि पहाडको अर्को शिशेषता थपिएको छ । थानकोटबाट १४ मिनेटमै केवलकार चढेर डाँडाको टुप्पामा पुगेर स्वर्ग पुगेको अनुभव संगाल्न सक्नुहुन्छ ।
केबलकार चढेर झण्डै १५ मिनेटमै काठमाडौंको चुचुरो चन्द्रागिरिमा प’गेर पूरै दिन प्राकृतिक एवं मनोरम वातावरणमा रमाउन पाउनुहनेछ । यहि कारण चन्द्रागिरीमा अहिले पर्यटकको आकर्षण बढ्दो छ । चिसो मौसम ,बादल भित्रै हराउने अनी केहिक्षणमै मौसममा परिवर्तन यस्तो प्राकृतिक बिबिधताले भरिएको भएरै पछिल्लो समय पर्यटकको सङख्यामा बृद्धि हुन थालेको छ ।

चन्द्रागिरिको केबलकारमा आउन ÷जाने यात्रा गर्दा ७ सय रुपैयाँ भाडा लाग्छ । यो सुविधालाई धेरैले रुचाएका छन् । आइडी कार्ड भएका विद्यार्थी, थानकोटका स्थानीय बासिन्दा, ३ फिटभन्दा होचा बालबालिका र अपांगहरुलाई विशेष छुटको प्रवन्ध गरिएको छ ।
केबलकारको बेस स्टेशन थानकोटमा छ । थानकोटबाट केबलकारमा चन्द्रागिरि पुग्न केबलकारमा ९ देखि १५ मिनेट लाग्छ ।
पर्यटक तथा दर्शनार्थी ओसार्न ३८ वटा क्यारियर सञ्चालन गरिएको आइएमई समूहका जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताउन’ भयो । एउटा क्यारियरमा ८ जनासम्म अटाउँछन् । यिनले दिनमा झण्डै १० हजार पर्यटकलाई चुचुरोमा र्पुयाउने र फिर्ता गर्ने क्षमता राख्छन् ।

