काठमाडौं, भदौ १५ ।
१९औँ दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा प्रस्तुत हुने ‘आप्रवासी कामदार’ सम्बन्धी घोषणापत्रको प्रारम्भिक मस्यौदा (जिरो ड्राफ्ट) तयार भएको छ ।
सार्क सचिवालय, श्रम तथा रोजगार मन्त्रालय, परराष्ट्र मन्त्रालय र विज्ञ सम्मिलित टोलीले प्रारम्भिक मस्यौदा तयार पारेको हो ।
मस्यौदालाई श्रम तथा रोजगार मन्त्रालयले परराष्ट्र मन्त्रालयमा र परराष्ट्र मन्त्रालयले काठमाडौँमै कार्यालय रहेको सार्क सचिवालयमा पठाउने जनाएको छ ।
सचिवालयले सार्क आबद्ध आठवटै मुलुकमा सहमतिका लागि मस्यौदा पठाउनेछ । ती मुलुकबाट मस्यौदामा सहमति वा परिमार्जनको लागि प्राप्त विवरणको आधारमा सचिवालयले मस्यौदालाई घोषणापत्रको रुपमा आगामी सार्क सम्मेलनमा प्रस्तुत गर्नेछ ।
प्रारम्भिक मस्यौदाका विषयमा श्रम मन्त्रालयले बुधबार सरोकारवाला निकायबाट राय, सुझाव समेटेको छ । प्राप्त राय, सुझावका आधारमा यसलाई थप परिस्कृत गर्दै सचिवालयमा पठाइने मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले जानकारी दिनुभयो ।
१९औँ सार्क सम्मेलन आगामी कात्तिक ४ र ५ गते पाकिस्तानको इस्लामावादमा हुँदैछ ।