१४ भदौ, काठमाडौं ।
व्यवस्थापिका संसदको विकास समितिले पुनर्निर्माणमा खटिएका कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप भत्ता दिन सरकारलाई निर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकले कार्यसम्पादन तथा भौगोलिक अवस्थाका आधारमा भत्ता, विमा, मौद्रिक तथा गैरमौद्रिक प्रोत्साहन आदिको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।
समितिले आजको बैठकमा प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग पनि सो बिषयमा छलफल गरेको थियो ।
यस्तै समितिले भत्ता, सेवासुविधा, सहुलियत जस्ता कारणले प्राधिकरणले माग गरे बमोजिमको जनशत्ति अझैसम्म उपलब्ध हुन नसकेको देखिएको भन्दै सोबारे १५ दिनभित्र सम्बोधन गर्न पनि आग्रह गरेको छ ।
भूकम्प पीडितलाई दिइने अनुदानको पहिलो किस्ता वापतको ५० हजार रुपैयाँ १५ दिनभित्र पीडितसमक्ष र्पुयाउनुका साथै जनगुनासाहरुलाई यथार्थ परक भई ३० दिनभित्र फछ्र्यौट गरिसक्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पनि निर्देशन दिएको छ ।
काठमाडौँ उपत्यकामा समेत भूकम्प प्रभावित सर्वेक्षणको लगत संकलन अझै हुननसकेको भन्दै समितिले दशैं अगावै काम सक्न भनेको छ ।