धनञ्जय बुढा
२२ असार काठमाडौं । अफगानिस्तानको काबुलमा भएको घटनाका पिडित परिवारले बैदेशिक रोजगारीमा जानेहरुको अधिकार र सुरक्षाको ग्यारेन्टि गर्न माग गरेका छन् ।
राजधानीको संवाद डबलीमा सम्मान म्युजिक प्रा.लि.ले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले रोजगारीमा जाने गन्तब्य देशसँग उचित काम, तलब, सुविधा, सम्मानजनक ब्यबहार र भरपर्दो सुरक्षा, अधिकारको विषय सम्झौतामै प्रष्टरुपमा लेखेर मात्र कामदार पठाउन माग गरेका हुन् ।
अफगानिस्तानको काबुलमा भएको दुःखद घटना राष्ट्रकै पीडा बन्नु पर्ने पीडित परिवारकाको भनाई । उनीहरुले रोजगारीका लागि विदेश जानु नेपालीहरुको रहर नभएर बाध्यता भएको धारणा राखे
सोहि कार्यक्रममा सम्मान म्युजिक प्रा.लि.ले असार ६ गते अफगानिस्तानको काबुलमा ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली तथा घटनालाई लिएर तयार पारिएको ‘सुन्नुस हजुर’ नामक गीत विमोचन पनि गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवं वरिष्ठ लोक गायिका बिमाकुमारी दुराले नेपालीहरु विदेशिनु रहर नभएर बाध्यता भएको बताउनु भयो । बाध्यतामा परी रोजगारी गर्न विदेश भूमिमा पुगेका तिनै नेपालीहरुले असमायिक मृत्युका घटनाहरु व्यहोरिरहेको उहाले बताउनु भयो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय आप्रबासी एलायन्स नेपालका अध्यक्ष रमेश तुफानले नेपाल सरकारले आफ्ना नागरिकहरुलाई स्वदेशमा रोजगारीको व्यबस्था गर्न नसके पनि उनीहरुलाई गन्तब्य देशसँग उचित काम, तलब, सुविधा, सम्मानजनक ब्यबहार र भरपर्दो सुरक्षा, अधिकारको विषय सम्झौतामै प्रष्टरुपमा लेखेर प्रत्याभुति गर्नुपर्ने बताए ।
म्यानपावर व्यवसायी सागर कँडेलले विदेश जान कुनै नेपालीलाई रहर नभएको सरकारको अकर्मण्यताले कर्मठ युवाहरुलाई विदेशी भूमिमा पुर्याएको बताए ।
चलचित्र एक्सनका नायक राज थपलियाले कलाकार पनि यस्ता घटनाबाट निकै नै प्रभावित हुने गरेको र कलाकरिताबाट जनचेतना जगाउन आफूले प्रयास जारी राख्ने बताए ।
संगीतकार बिबि अनुरागीले हामी नेपालीहरुले कहिलेसम्म विदेशी भूमिमा रगत बगाउने, ? प्रश्न गर्दै मिडियाले काबुलजस्तो कारुणिक घटनालाई गीतमा उतारेर संचारित गर्न उच्च प्राथमिकताका साथ स्थान दिनु सबैको दायित्व भएको बताए ।
गीतको चरना हाल साउदीमा रहेका वीरबहादुर खत्री र जीवनकुमार आचार्यले गरेका हुन् । स्वर लोकदोहोरी गायिका तथा गायक कृष्णा परियार र शेरबहादुर आचार्य ‘गाइने’ले दिएका छन् ।
‘सुन्नुस हजुर’ गीतको भीडियो आगामी साता बजारमा ल्याउने तयारी रहेको प्रा.लि.का निर्देशक प्रकाश क्षेत्रीले बताए ।
त्यसैगरी प्रा.लि.की अर्का डाइरेक्टर सजिना लामिछानेले अफगानिस्तानमा मात्रै नभएर यस्ता धेरै घटनाहरु घट्ने क्रम नरोकिएको भन्दै सम्बन्धित निकाय सजक हुनु आवश्यक रहेको बताए ।
कार्यक्रममा पीडित परिवारको तर्फबाट मृतक बीरबहादुर क्षेत्रीकी धर्मपत्नी गंगा महत सुबेदीले श्रीमानको निधनले आफू जीवनकै ठूलो पीडा परेको बताइन् । यस्ता घटना दोहोरिन नदिन सरकार र सबै पक्ष लाग्नुपर्नेमा जोड दिइन् ।
त्यस्तै सोही घटनाका मृतक चन्द्रबहादुर रानामगरका छोरा अशोक रानामगरले आपूm र परिवार बुबाको निधनपछि निकै पीडामा बाँचिरहेको र पीडालाई सामान्य अवस्थामा ढाल्ने प्रयासमा रहेको बताए ।