भक्तपुर, ९ असार ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय प्राणी उद्यान निर्माणपछि भक्तपुर विश्वकै नमुना बन्ने बताउनुभएको छ ।
भक्तपुरको सूर्यविनायक क्षेत्रका ७ ओटा सामुदायिक वनमा निर्माण गर्न लागिएको राष्ट्रिय प्राणी उद्यानको आज सिलान्यासपछि ओलीले स्थानीयका समस्यालाई मध्यनजर गर्दै प्राणी उद्यान निर्माण गर्दा वातावरणीय र पर्यावरणीय पक्षलाईसमेत ध्यान दिन सरोकारवालाहरुलाई सुझाव दिनुभयो ।
कार्यक्रममा वनमन्त्री अग्निप्रसाद सापकोटाले प्राणी उद्यान निर्माणको काम छिटो सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेकोमा जोड दिनुभयो ।
यस्तै, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्राणी उद्यान बन्नु सकारात्मक भएपनि स्थानीयका सरोकारलाई पनि ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।
२०६१ सालमा प्रस्ताव गरिएको प्राणी उद्यान २४५ हेक्टर जमिनमा फैलने छ । एसियाकै नमुना बनाउने भनिएको प्राणी उद्यानमा सूर्य्विनायक र अनन्तलिंगेश्वर नगरपालिकाका ७ ओटा सामुदायिक वन क्षेत्र पर्दछन् ।