काठमाण्डौ ,८ असार ।
अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम बिष्फोटमा परेर ज्यान गुमाउने १२ नेपालीको शव नेपाल एयरलाईन्सको चार्टर बिमानबाट काठमाडौं ल्याईएको छ ।
शव ल्याउन परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख प्रकाश सुवेदी नेतृत्वको टोली विहान काबुल पुगेको थियो । नेपाल बायुसेवा निगमको बिमानबाट अपरान्ह ३ बजे शव ल्याइएको हो ।
तीमध्ये ४ जनाको काठमाडौंस्थित पशुपति आर्यघाटमै अन्त्येष्टी गरिने भएको छ । काठमाडौंका चन्द्रबहादुर राना, बिदुरबहादुर सुवेदी र हरिवहादुर बडुवाल तथा नुवाकोटका मधुसुदन कोइरालाको शव आफन्तले बुझेर पुशपति लैजाने तयारी भइरहेको छ ।
चितवनका कृष्णबहादुर ढुङ्गाना, नुवाकोटका डम्बरबहादुर तामाङ र लिलबहादुर गुरुङ, लम्जुङका अमृतवहादुर थापा, स्याङ्जाका सुकबहादुर गुरुङ, रुपन्देहीका जितेन्द्रसिंह थापा, पर्वतका नवीनबहादुर क्षेत्री र सुनसरीका अंकुर तामाङको शव भने गृह जिल्ला लगिने भएको छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली पनि बिमानस्थल पुग्नुभएको छ । मृतकका आफन्त पनि शव बुझ्न बिमानस्थल पगुभएको छ । विमानस्थल पुगेका मृतकको रुवाबासि चलेको थियो ।
बिस्फोटमा घाइते भएका ७ मध्ये ५ जनालाई उपचारका लागि भारत लगिएको छ । मोरङका प्रेमबहादुर क्षेत्री, म्याग्दीका चेतप्रसाद शेरचन, गोरखाका कुमारबहादुर गुरुङ, चितवनका कृष्णकुमार देउजा र सुर्खेतका अमृत रोकाया क्षेत्रीको उपचार भारतको एपोलो अस्पतालमा उपचार भइरहेको हो ।
काबुलस्थित वेष्ट–एक्स मेडिकलमा उपचाररत चितवनका मानबहादुर थापा र नुवाकोटका च्याङ्वा तामाङ्लाई भने एयर एम्बुलेन्सबाट दिल्ली ल्याउन चिकित्सकसँगको परामर्श जारी छ ।
दुइमध्ये गम्भिर अवस्थाका च्याङ्वालाई भेन्टिलेटरमा राखेर सघन उपचार जारी राखिएको छ भने मानबहादुरको दुबै कानको जालीमा समस्या देखिएको छ ।
तालेवानले गत सोमबार विहान काबुलमा गराएको विष्फोटमा १२ नेपाली सहित १४ जनाको मृत्यु भएको थियो भने ७ नेपाली सहित ९ जना घाइते भएका थिए ।