काठमाण्डौ, ७ असार ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपालका लागि बेलायतका राजदूत रिचार्ड मोरिजबीच आज भेटवार्ता भएको छ ।
देउवा निवास बूढानीलकण्ठमा भएको भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धका विषयमा छलफल भएको छ ।
कुराकानीका क्रममा दुई देशको सहयोग तथा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, आर्थिक विकास र आगामी गतिविधिबारे छलफल भएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिनुभयो ।
भेटमा सभापति देउवाले नेपालको सबैभन्दा ठूलो र पुरानो राजनीतिक दल भएका कारण कांग्रेसको काँधमा मुलुकको सबै ऐतिहासिक दायित्व र जिम्मेवारी रहँदै आएको बताउनुभयो ।
आगामी दिनमा पनि नेपालको संविधानको सफल कार्यान्वयन गरी लोकतन्त्रलाई संस्थागत र स्थायी बनाउन कांग्रेसले नेतृत्व गर्ने समेत देउवाको भनाई छ ।
देउवाले सबै राजनीतिक दलबीच सहमति, सहकार्य र एकताका साथ अगाडि बढ्न कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो ।