काठमाण्डौ ,७ असार ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान विपरीत अभिव्यक्ति दिने उपप्रधानमन्त्री कमल थापा र चित्रबहादुर केसीलाई बर्खास्त गर्न माग गरेको छ ।
आजको संसद बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसका तर्फबाट रामहरि खतिवडा र अर्जुनप्रसाद जोशीले संविधान कार्यान्वयन गर्नुपर्ने बेला त्यसका विरुद्ध अभियान चलाउने मन्त्रीलाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग गर्नुभएको हो ।
संविधानअनुसार सपथ खाने र त्यही संविधान विरुद्ध अभिव्यक्ति दिने काम असुहाउदो भएको भन्दै संविधान कार्यान्वयनका लागि उपप्रधानमन्त्रीद्वयलाई तत्काल पदबाट मुक्त गर्नुपर्ने सांसद खतिवडाको भनाई थियो ।
उपप्रधानमन्त्री कमल थापाको पार्टी राप्रपा नेपालले हिन्दु धर्म र राजसंस्था पुनस्थापित हुनुपर्ने र अर्का उपप्रधानमन्त्रीले चित्रबहादुर केसीको पार्टी राष्ट्रिय जनमोर्चाले संघीयता विरुद्ध अभियान चलाइ रहेको छ ।
सरकारले संविधान जारी गर्ने पूर्वराष्ट्रपतिलाई अपहेलना गरेको तर, संविधान विरुद्ध अभियान चलाउने मन्त्रीलाई पक्षपोषण गरेको कांग्रेसको आरोप छ । संसदमा मंगलबार पनि मन्त्रालय गत रुपमा विनियोजन गरिएको बजेटमाथि छलफल भइरहेको छ ।