काठमाडौ ५ असार ।
व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । बिहान ११ बजेपछि बस्ने बैठकमा आज संसद सन्चालन सम्बन्धी नियमवाली पारित गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।
नियमावली माथि दलहरुबीच सहमति जुट्न नसके सभामुख ओनसरी घर्तीले आजको संसद बैठबाट नियमावली निर्माणलाई निर्णय प्रक्रियामा लैजाने तयारी गर्नुभएको हो ।
दलहरुलाई दिएको पाँच दिनको समयसीमामा पनि सहमाति जुट्न नसकेपछि आजबाट सभामुख घर्तीले प्रक्रियागत रुपमा नियमावली अघि बढाउने तयारी गर्नुभएको उहाँका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो ।
गत बुधबारको संसद बैठकमा दलहरुले सहमतिका लागि छलफल गर्न भन्दै थप पाँच दिनको समय माग गरेपछि सभामुख घर्तीले नियमावली सम्बन्धी कार्यसुचीलाई पछि सार्नुभएको थियो ।
नियमावली भित्र रहने सुनुवाई समिति संख्यलाई लिएर सत्तारुढ र प्रतिपक्षी दलबीच विवाद रहदै आएको छ । सत्तारुढ दलले नयाँ संविधान अनुसार १५ सदस्यीय बनाउनु पर्ने बताउदै आएको छ भने प्रतिपक्षी कांग्रेसले पुरानै व्यवस्था अनुसार ७५ सदस्यीय बनाउनु पर्ने माग राख्दै आएका छन् ।