काठमाडौ, ४ असार ।
नेकपा माओवादीका गण्डक ब्यूरोले दलाल र भ्रष्टचारीमाथिको कारवाहीलाई अझ तीव्रता दिने जनाएको छ । गण्डक ब्यूरोले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा ब्यूरो इन्चार्ज सावित्रा दूरा आस्थाले भ्रष्टचारीमाथिको कारवाहीलाई तीव्रता दिने बताएकी छन् ।
नेकपा माओवादीको नेतृत्वमा जनसहभागितामा देशभर एनसेलमाथिको जनकारवाहीले जनताको मन जितेको र थप भ्रष्ट व्यक्ति र संस्थालाई कारवाही गर्ने क्रमलाई निरन्तरता दिने बताइन् ।
देश र जनताको पक्षमा माओवादीको नेतृत्वमा भएको कारवाहीको विषयलाई लिएर सरकारले व्यापक धरपकड चलाइरहेको भन्दै आपत्ति जनाइन् ।
इन्चार्ज आस्थाले सरकारले जथाभावी रुपमा माओवादीका नेता तथा कार्यकर्तालाई घरघरबाट बिनाकारण गिरफ्तार गर्ने र झुठा मुद्दा लगाउने काम गरिरहेको हर्कतको भत्सर्ना गरिन् । साथै निसर्त रुपमा गिरफ्तार नेता तथा कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरिन् ।
माओवादीको हालैको केन्द्रीय समितिको बैठकको निर्णयअनुसार देशभरका हरेक ब्यूरोमा पत्रकार सम्मेलन गरी गिरफ्तार नेता कार्यकर्ताको अवस्थाबारे जानकारी दिएको जानकारी दिइएको छ ।
माओवादीका कास्की जिल्ला सचिवालय सदस्य गोविन्द ओली, लाम्जुका जिल्ला सदस्य विक्रमबाबु पन्त र इलाका सदस्य गोविन्दबहादु तिवारीलाई प्रहरीले गिरफ्तार गरिएको र तत्काल बिनासर्त रिहा गर्न माओवादीले माग गरेको छ । गिरफ्तार गरिएका नेताहरुमाथि आगजनीसम्बन्धी जस्ता झुठा मुद्दा लगाइएकोमा आपत्ति जनाउँदै मुद्दा तत्काल खारेज गर्न माग गरेको छ ।
त्यसैगरी तनहुँका जिल्ला सेक्रेटरी निरु थापा, विनोद विक र प्रेम शाहीमाथि झुठा मुद्दा लगाएको भन्दै खारेज गर्न माग गरेको छ । स्यांजा जिल्ला सदस्यहरु राजेन्द्र ढकाल, भरत कोइराला, विशाल बजुरेल र इलाका सदस्यहरु विनोद पाण्डेलाई बिनाकारण गिरफ्तार गर्ने सरकारको रवैया तुरुन्त रोक्न समेत माग गण्डक ब्यूरोले माग गरेको छ ।
पत्रकार सम्मेलनबाट नेकपा (क्रान्तिकारी माओवादी) परित्याग गरी मंगल लिम्बू, अमृत सापकोटा, गम्भीर गुरुं, सावित्री सुनार र हरि राई नेकपा माओवादीमा प्रवेश गरेका छन् । माओवादीका गण्डक इन्चार्ज आस्था र केन्द्रीय सदस्य मोहन कार्की (जीवन्त)ले अबिर लगाएर पार्टी प्रवेश गराएका थिए ।