काठमाण्डौ, १ असार ।
व्यवस्थापिका–संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्ध तथा श्रम समितिले नेपाली नागरिकले विदेशी नागरिकसँग विवाह गरी जन्मेका सन्तानलाई नेपालको संविधान र प्रचलित कानुनले प्रदान गरेका अधिकार सहज उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको आजको बैठकमा विशेषतः नेपाली महिलाले विदेशी पुरुषसँग बिहेगरेपछि जन्मिएका सन्तानलाई नेपाली नागरिकता प्राप्त गर्न केही व्यवहारिक समस्या रहेको विषयमा छलफल भएको थियो ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव टेकप्रसाद ढुंगानाले नेपाली महिलाले विदेशी पुरुषसँग बिहे गरेमा श्रीमान् नेपालमा लगातार १५ वर्ष बसेर आफ्नो मुलुकको नागरिकता त्यागेको अवस्थामा नेपाली नागरिकता पाउने व्यवस्था रहेको जानकारी गराउनुभयो ।
उनीहरुबाट जन्मिएका सन्तानले बाबुको देशको नागरिकता लिन नचाहेकोमा १६ वर्ष पुगेपछि सहजै नेपाली नागरिकता पाउने व्यवस्था कानुनमा रहेको उहाँको भनाई छ ।
परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले नागरिकताको विषय राष्ट्रिय सुरक्षा र राष्ट्रहितसँगसमेत जोडिएको हुनाले यसलाई सहजरुपमा लिन नहुने टिप्पणी गर्नुभयो ।