काठमाडौ १ असार ।
व्यवस्थापिका संसदको बैठक आजदेखि सुरु हुदैछ । बिहान ११ बजेपछि संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।
सरकारले गत जेठ १५ गते संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयगत रुपमा विनियोजन भएको रकमबारे आजबाट छलफल हुने संसद सचिवालयका सह प्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिनुभयो ।
बैठकमा विनियोजन, रिट तथा जमानत लगायत संसदमा पेश भएका केही महत्वपूर्ण विधेयकमाथि छलफल गर्ने तयारी समेत रहेको छ । बैठकमा लामो समयदेखि टुङ्गिन बाँकी रहेका संसद नियमावली माथि पनि छलफल हुने कुँइकेलले बताउनु भयो ।
प्रमुख दलहरुबीचको मतभेदका कारण लामो समयदेखि संसद सन्चालन सम्बन्धी नियमावली लगायतका विधेयक टुङ्गोमा पुग्न सकेको छैन ।
यसैबीच भूकम्पपछिको पुनरनिर्माण तथा अनुदान वितरण लगायतमा सरकारले राजनितिकरण गरेको भन्दै प्रतिपक्षी दल कांग्रेसले संसदमा कडा रुपमा प्रस्तुत हुने तयारी गरेको छ ।
भूकम्प प्रभावित जिल्लाका कांग्रेस सभापति तथा सांसदहरुको हिजो बसेको संयुक्त बैठकले पुनरनिर्माणमा सरकार मनोमानी ढङ्गले अघि बढेको भन्दै आजदेखि सांसदमा अवाज उठाउने निर्णय गरेको हो ।
संसदमा प्रस्तुत हुने बारे थप रणनितिबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बिहान १० बजेका लागि बोलाइएको छ । पुनरनिर्माणका लागि विषेश प्रस्ताव संसदमा लैजाने विषयमा पनि संसदीय दलको बैठकमा छलफल हुने जनाएको छ ।