चितवन, ३२ जेठ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसलाई सत्ताको भन्दा राज्य व्यवस्थाको चिन्ता रहेको बताउनु भएको छ ।प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले लामो समयदेखि स्थिर सरकार हुन नसकेका कारण अब संविधान कार्यान्वयन गर्दै स्थिर सरकार निर्माण गर्नेतर्फ काँग्रेस लाग्ने बताउनु भयो ।
नेता पौडेलले कांग्रेस कहिल्यै पनि स्थानीय निकाय निर्वाचनको विरोधमा नरहेको भन्दै संविधानमा उल्लेख गरिएको स्थानीय निर्वाचनका संरचना निर्माण गरेर स्थानीय निर्वाचन गराउनु पर्ने बताउनु भयो ।
वर्तमान ओली नेतृत्वको सरकार रहने या नरहने भन्ने कुरा सत्ता गठबन्धन दलको हातमा रहेको भन्दै उहाँले सत्तारुढ घटकहरुबीच तालमेल रहेसम्म वर्तमान सरकार रहिरहने धारणा राख्नु भयो ।
मधेसवादी दललाई सहमतिमा नल्याई स्थानीय निर्वाचन गर्न कठिन हुने बताउँदै नेता पौडेलले मधेसवादी दलसँग गम्भीर रुपमा वार्ता गरेर समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।